"लालपाटी" र फागुपुर्णिमा 🙏
फागु खेलन हो, फागु खेलन........बाह्रै बजारैमा होली खेलन। यसो भन्दै ठूला बडाले गीत गाउने नाच्ने गर्नुहुन्थ्यो। हामी पनि रमाउँथ्यौं। पाल्पाको अन्नभण्डार माडीफाँट र त्यसैको बिचोबिच रहेको "लालपाटी " मा बर्सेनि फागुपुर्णिमाको दिन आयोजना हुने सभ्य र भब्य फागु मनैभरी झल्झली सम्झना आएको छ। नाम नै "लालपाटी" फागु पुर्णिमाको रङ्गले त्यो ठाउं नै रातै रातै हुन्थ्यो। मान्छे त थरि थरिका रंगले पोतिएर आफ्नो /पराइ चिन्नै नसकिने। ढेंडुको जस्तो मुख पो पार्थे त। ......
मानिसहरुले लेक लेकबाट आ आफ्ना उत्पादन कसैले उँखुका भारी भारी झार्दथे। कोहि लेकको कोदो/ फापर बेच्न ल्याउँथे। कोहि ल्याउँथे हातले बुनेका बाँसका सुन्दर ढकिया, नाङ्गला , डाला , डोका। कोहि आउँथे लेकको सागपात खाएर राता शीर बनाएका लोकल भाले बेच्न। यसरि लालपाटी वर्षको एकपटक खुसीको रंगमा लाल लाल हुन्थ्यो। धेरै समयसम्म नभेटिएका भाई/ साथी भेट्न पाइन्थ्यो। जीविकोपार्जनका लागि किनबेच हुन्थ्यो। भावना साटासाट हुन्थे। उमेर र समय संगसंगै जहाँ जहाँ पुगेर जसरी जसरि जीवन बाँचेपनि खासगरी चाडबाडको बेलामा भने बाल्यकालको सम्झनाले अति सताउने रहेछ।
पाल्पाको प्रसिद्द चुकाउनी, बटुक, सेलरोटी र अरुअरु खानाका परिकारपनि किन्न पाइन्थ्यो। दिनभर जसो एक अर्कामा रंग खेलेर साँझ पर्न लाग्दा आफैले रोजीरोजी किनेका उँखुका लाँक्रा टेकेर घर तर्फको उकालो चढीन्थ्यो। हुन त उँखु आफ्नै घरमापनि हुन्थ्यो तर त्यहाँ किनेर टेक्दै उकालो चढ्नुको शान छुट्टै लाग्थ्यो।
त्यो बेला अहिले जस्तो जबरजस्ती र नचिनेकालाई समेत रंग र पानी छ्याप्ने चलन थिएन। कामले कतै हिंडेको मान्छेलाई समेत सताउने, अत्याउने र प्लास्टिकका लोला फाल्ने चलन कतै देखिएन। अहिलेका साना बालबालिकालाईपनि जथाभावी प्लास्टिकजन्य समान नकिन्न अभिभावकले बुझाउनुपर्ने देखिन्छ।
अहिले यस्तो लाग्छ, चाडबाडको मर्म कतै मिचिएको छ। साँचो कुरा भन्नुपर्दा म आफै आजको 'इभिनिङ्ग वाल्क' नजाने सोंचेकी छु, मलाई डर छ, कोहि कसैले ताकेर रंग लोला छ्याप्ने पो हो कि ? यो खालको डर पहिलेका होलीमा हुँदैन थिए।
अरुलाई दुख दिने खराब आचरण हटाऔं, लोला र पिचकारी लगायत अनावश्यक र वातावरण दुसित पार्ने समान किनेर पैसा सक्नुभन्दा केहि सिर्जनात्मक र रचनात्मक भएर चाड मान्न नानिबाबुलाई सक्दो प्रोत्साहन गरौँ। फागुपुर्णिमाको शुभकामना🙏
This comment has been removed by the author.
ReplyDelete