पाईयो पारिवारिक साथ _पाईएन देख्नलाई बाघ। सफारी अनुभव ।
कार्तिक ३ गते शनिबार। ठुली छोरी भ्रमणका लागि स्कूल टोलीसंग चाइना उडिन्। सानी छोरी काठमान्डू नै बसिन्। ससुरबुवा,सासुआमा, उहाँ र म लाग्यौं नवलपरासीतर्फ। कुरीनटारमा रहेको बाह्रसिंगे बियर फ्याक्ट्रीमा खाजा खान पस्यौं। खाने बानी र रुचि भएकालाई नेपाली ब्रान्ड राम्रै कुरो भयो। मैले भने आजसम्म बियर मुखमा पारेको छैन। मलाई त्यहाँको पिज्जा निकै नै मनपर्छ। पिज्जा भनेपछि छोरीहरु पनि हुरुक्क हुन्छन्। तर दुईजनै नानीहरु साथमा थिएनन्। हरेक स्लाइस्मा सम्झिँदै खाएँ। खाजा खाईवरी बाटो लाग्यौं। नागढुंगा कुरिन्टार बाटोपनि दुरुस्तै चितवन देखि बुटवलकै झल्को दिने। यात्रा गर्नै कठिन।
नवलपरासी नगरपालिका अन्तर्गत अमलटारी बाघखोरमा थारु होमस्टे संचालनमा रहेछन्। हामी त्यहीं बस्यौं। लोकल भट्मास साँधेर, लोकल कुखुरा, हाँस, माछा आदिको परिकार खायौं।
बिहान मेरो ढिला उठ्न्ने बानी। मेरो भन्दा उहाँको झन् ढिलो। फ्रेस भएर जंगल सफारीका लागि निस्कंदा साढे आठ बजिसकेको थियो। उहाँको साथी गौडेल बाबु, बुवाआमा, उहाँ र म भएर निस्क्यौं गुन्द्रे ढकाहा सामुदायिक जंगल सफारीका लागि। जीवनकै पहिलो जंगल सफारी, म त त्यसै दंगै थिएँ। छोरीहरु साथ थिएनन् ऱ मनले खोजिराथ्यो। बुवाआमा पनि खुशी हुनुहुन्थ्यो।
हुनत जुनै उमेरमा पनि आफ्ना सन्तान साथै रहुन् भन्ने अभिभावकको चाह हुन्छ। अझ बुढेऊँलिले ढाकेपछि सन्तानको आश र साथ सबैका आमाबालाई चाहिन्छ।
जंगलमा हामीले अलि परपरैबाट हरिण, बन कुखुरो, मयुर देख्यौं। मान्छे पुगेको चाल पाएर उनीहरु भागीहाल्ने। आँखाले हेरेर मात्र नपुग्ने फोटोको भोगी म। ति जातले मलाई फोटो खिच्ने मौका पनि दिएनन्। एक सिंगे गैंडालाई भने धेरैबेर नियाल्यौं। बाघ देख्न भने भाग्यले जुराएन। त्यही दिन फेरी सर्व साधारणलाई घाँस दाउरा काट्न जंगल खुल्ला गर्ने दिन परेछ। वर्षको ३ पटक घाँस दाउराको लागि जंगल खुल्ला गरिदिने नियम रहेछ।
बिहानैदेखि जनावरहरु तितरबितर भए हुनन्। त्यसमाथि बाघ त झनै लजालु स्वाभावको जनावरमा पर्छ रे। भित्रभित्रै लुक्यो होला। ३, ४ घण्टासम्म यता र उता फन्को मारेपनि बाघको दर्शन पाईएन।
गौडेल बाबुले ऊ ति बाघ भनेर भन्न पाएपनि हुन्थ्यो नि भन्दा हामी गलल हाँस्यौं। कता न आएका पाहुनाले बाघ देखुन् न त भन्ने उहाँको पुकार रहेछ। सफारीको लागि गत्तिलै पैसा बुझाएर हिंडेका हामी, रहर त हामीलाई पनि थियो। भाग्यले नजुराको कुरो रहरले कहाँ पाउनु ।
गाइड बैनीले धेरै नहास्नुस न जनावरहरु भाग्छन् फेरी भन्दा हामी झनै हाँस्यौं। गाडीकै यत्रो घ्यार घ्यार आवाज छ, त्यसमाथि बिहानै देखि घाँस दाउरा गर्नेको भिड। हाम्रो हाँसोको के कुरा भो र भन्यौं , झन् जोडले हाँस्यौं।
आँखै झिमिक्क नगरी पोथ्रापोथ्रिमा नजर डुलाउँदैमा ठिक्क थियो। एउटा सामुहिक फोटो पो बरु खिच्न भुलिएछ।
बाघ नदेखेपनि वरसम्म फैलियेकि नारायणीको पानी आच्मानी गरेर होम्स्टे तिरै फर्क्यौं। खाना खाईसक्दा आधा दिन गैसकेको थियो। जंगल चाहारेको शरीर अनि भाते निद। आँखा खुल्दा बेलुकी भैसकेको थियो। हामी बसेको ठाउं नजिकमा पार्क थियो। सासु बुहारी भएर टहलिन निस्क्यौं। नजिकमा थारु संस्कृतिक भवनपनि थियो। पार्कबाट फर्किएर थारु नाच हेर्न गयौं। फर्किएर फेरी खाना खाएर सुत्यौं।
तेस्रो दिन बिहान नास्ता खाईवरी बुवाआमा कपिलवस्तु घरतर्फ लाग्नु भयो। हामी काठमाडौँ तर्फ। दुइतिरको बसाई भएकाले तराई काठमाडौँ भैरहन्छ। भाईतिहारको सुभकामना सहित हजुर सम्पूर्णमा धन्यवाद मेरो अनुभव पढीदिनुभएकोमा। सुभ समय ।
Comments
Post a Comment