बाल्यकालको दशैँ

 


पारिवारिक मिलन, हर्ष उमङ्गको चाड बडादशैं । बडादशैंको पावन अवसरमा सबै नेपालीजनमा हार्दिक शुभकामना। वर्षा सकिएर प्रकृति खुलेकी छन्। स्कूल बिदा भएपछी बालबच्चा  उस्तै फुरुंग देखिन्छन्। कामले, पढाईले टाढिएकाहरु पर्व मान्न आ आफ्नै ठाउँथलो फर्केका छन् ।

लिपपोतले सिंगारिएका घरहरु सादा पान्नामा कोरिएको रंगिन चित्रजस्ता देखिन्छन् । टारीखेत र गैह्री खेतमा धानका बाला हल्का झुकेर पाहुनाको स्वागत गरे जस्तै भान हुन्छ । घरबाट टाढा बसेका सन्तानलाई अंगाल्न आमा आत्तिए जस्तै अटल अनि हरिया बनपाखाहरु आफ्नो अनुपम सुन्दरता देखाउन हतारिए झैं प्रतित हुन्छ  । 

केटकेटिहरु बिहान सबेरैदेखि  बेलुका अंधेरैसम्म पिङमै झुण्डेका देख्न सकिन्छ । किताबका पान्ना पल्टाउनु र होमवर्क सक्काउनुको तनाब जो छैन । आकाशमा चरा उडेसरि उडेका चंगा छन्। लट्टाई समाएका भुराभुरी चंगातिरै हेरेर दङ्ग छन्। अझ बाजी पो थाप्दै छन् त तेरो चंगा माथिसम्म पुग्ने कि, मेरो भनेर ।

छुट्टी मिलेका लाहुरे फर्केका छन् परिवारका लागि  खुशी  बोकेर । नमिल्नेले  अर्को दशैंमा छुट्टी आउने बाचा दिए होलान्। घरकाले पनि पत्याए हुनन्।  आखिर संसार विश्वासमा त चलेको छ।  सबैका आमाबाबाहरु चाडवाडमा आएका छोराछोरीलाई मिठो चोखो खुवाउन पाए हुने भन्ने ध्याउन्नमा हुनुहोला।

तर धेरै नेपालीलाई भने दशैंले छुन्न यसपाली। भर्खरै देशभर विध्वंश मच्चाएको बाढीको कहरले ठूलो मात्रामा जनधनको क्षति भयो। सुन्ने देख्नेलाईपनि गाह्रो कुरा  भोग्नेलाई के बित्योहोला ? सबै दुखद घटनाप्रति मेरो उत्तिकै समबेदना छ। समयले दिएका घाउचोटहरु समयसंगै निको हुनेछन्। हे  दुर्गा भवानी, शोकमा परेकालाई सहने शक्ति दिनुहोस् , मेरो प्रार्थना ।

फर्केर हेर्दा मेरो बाल्यकालको दशैँ ======

दाजुभाईकि एक्ली चेली।  बाबाकी सबसे प्यारी । मलाई घरमा त्यति काम गराउनुहुन्नथ्यो । आफुहरु दुखै काटेर पनि नानीलाई काम नलगा है, बाबाले आमालाई भनिरहनुहुन्थ्यो। बाल्यकाल सुखै सुखमा गयो त म भन्दिन, तर खोइ …एउटा छोरी भएकोले बढी पुल्पुलाउनु भयो कि कुन्नि ? जे होस् सबैभन्दा बढी बाबाको माया मैले पाएँजस्तो लाग्छ।

 मेरो उमेरका अरु केटिसाथी जस्तै म पनि नयाँ कपडा लगाउन हतारिन्थें। पहिले घरमा टिका लगाएर सकेपछि खाना खाइन्थ्यो। त्यसपछि तलमाथि ठूलाबा, काकाबाकोमा पुगिन्थ्यो। आफ्नै दाजुभाईकोमा टिका र आशिर्वाद लिने काम सकेपछि, जाँगर चलेमात्र अन्यत्र टिका थाप्न जान्थें म। सुमित्रा सारु, मेरी मिल्ने साथी थिईन्। उनि मगर । म क्षेत्री। सेलरोटी मेरोमा बढी पाक्ने । बारा (बटुक) उनकोमा बढी पाक्ने । म सेलरोटीले मिच्छिने । उनि बटुकले । अनि हामी आ आफ्नो भाग रोटी र बटुक साटासाट गर्थ्यौं।

टिका लगाएपछि सेलरोटी, अचार, केरा आदि खानदिने चलनथ्यो हाम्रातिर । केरा र अचार खाईहाल्थें। तलमाथि दौडीरहने, केटकेटि उमेर ।  जति खाएपनि पच्थ्यो । सेलरोटी भने नारीमा चुरा लगाए झैं अटाएसम्मैका उनेर घर जान्थें। एक, दुई, पाँच रुपियाँ आदि सिक्का पैसा पाएको भए त्यसलाई नोटमा साटी माग्थें बाबासंग । अनि त्यहि जम्मा भएको पैसालाई दोहोरो, तेहरो गन्दै बस्थें। तास खेल्न मलाई आउन्नथ्यो । अहिले पनि आउंदैन। कहिल्यै  सिक्ने रहरपनि भएन। कौडा र खोरखोरे ठाउं विशेषमा फरक नाम हुन सक्यो । मलाई त्यतापट्टि पनि खास मन गएन ।

बरु नाच्ने गाउने माहोलमा भने म झ्याप्पै भिजिहाल्थ्यें। अरु दिदि दाजुहरु चिटिक्क मारुनी बनेर नाचेको देख्थें। मलाई पनि राम्रो बन्न मन लाग्थ्यो। सृंगारले सजिन मन लाग्थ्यो  । त्यो बेला घरमा सृंगारको नाममा आमाले लगाउने बडेमानको रातो टिका, पूजा गर्ने अबिर र खोपामा काँईयो, ऐना हुन्थ्यो  । गर्मी याममा घमौरा आउंदा घस्नुपर्छ भनेर धेरैपछि मात्र हो, ठुल्दाजुले नाईसिल पाउडर ल्याउनु भएको त।

एकपटक कति गोरागोरा बनेर मारुनिहरु ठूलोनाच नाच्न आएका । ओहो, मलाई कसरि त्यति गोरो हुनीहोला, भनेर छटपटी छुट्यो। केट्केटि  बुद्धि।  के दिमागमा आयो कुन्नि ? अर्को ठूलो नाच नाच्ने दिन, रमाइलो हेर्न जानको लागि राम्री हुन मन लग्यो । डालोमा गहुँको पिठो रैछ । त्यहि दलें।  यसो ऐना हेरेको, कहाँको गोरो हुनी हो ? केहि नकामको फुस्रो देखियो ।  अनि  पूजा गर्ने अबिरलाई पानीमा भिजाएर लिपिस्टिक जस्तो लाग्छ कि भनेर ओंठमा औंलाले दलें  । त्यो पनि टिकेन। राम्री हुने ति उपाएले काम नगरेपछि, एकछिन त् आफैसंग रिसपनि उठ्यो। जान्न मेलासेला हेर्न भन्ने झैँपनि लाग्यो । घर नजिकमै बौलाहा डाँडामा थियो रमाइलो । मादल बजेपछि घरमा अडिन कहाँको सक्नु फेरी ? मादलको रन्कोले लाली पाउडरको पीर बिर्साईहाल्यो। बौलाहा डाँडा टोपबहादुर दाईको पालामा अति नै रमाइलो गर्ने उहाँहरुले। उहाँकी बैनी मनिसरा मेरी साथी पनि थिईन्। यानी दिदीहरु, भाउजुहरु जुटेर प्राय झ्याउरे गाइहाल्नुहुन्थ्यो। ठाडो भाका, झ्याउरे अत्ति मनपर्ने मलाई।

समयको चक्र।  अहिले न त्यो गाउँ त्यति रमाइलो छ।  न बौलाहाडाँडा टोपबहादुर दाई नै जिउँदो रहनुभयो। म जन्मेको गाउँ मात्र होइन, दूरदराजका प्राय डाँडाकाँडा उही दशैं तिहार आउँदा मात्र रमाइलो हुन्छ अचेल । काम विशेषले टाढिनु परेपनि मौका मिलाएर पूर्वजको ठाउं जाने गरौँ । सदैव गर्व गरौँ आफ्नो पुर्खा,जन्मथलो, हाम्रा मेलापर्व र संस्कृतिप्रति ।  यिनै चाडबाडका कारणपनि गाउँको अस्तित्व जोगिएको छ । मेरो पेजसम्म आएर आफ्नो अमुल्य समय खर्चिनु भएकोमा हजुर सम्पूर्णमा धन्यवाद। फेरी एकपटक बडादशैंको शुभकामना 

Comments

Popular posts from this blog

माघ महात्मेय

केहि नहुँदापनि “माया” होस् । कोही नहुँदापनि एकअर्काको “साथ” होस् ।

रमाइलो पाँचपोखरी -पुग्नु है जसरी