केहि नहुँदापनि “माया” होस् । कोही नहुँदापनि एकअर्काको “साथ” होस् ।
प्रेम भावना हो । प्रेम जिउने आधार हो । दुई अक्षरको प्रेम अहा…संसारकै सुन्दर चिज हो । संसारलाई बाँध्ने मध्यम हो प्रेम । संसारलाई चाहिएकै प्रेम हो । घृणालाई परास्त गर्ने एक मात्र हतियार प्रेम हो । प्रेमले हेर्न सके सबै राम्रो देखिन्छ ।
रह्यो कुरा प्रेमलाई कसरी प्रस्तुत गर्ने ? टेडी बियर,चकलेट, हग, किस, प्रपोज, प्रमिस यी सब त फेन्सी चिज भैहाले ।
मलाई त हाम्रै घर आँगनमा फक्रे फुलेका गुलाबको फूल टिपेर देओस् भन्ने चाह पनि कहिल्यै भएन |
म प्रार्थना गर्छु प्रेममा रहनुभएका वा गृहस्ती जीवन जिउनुभएका तपाईंका परिवारभित्र सानासाना खुशीहरु सधैँ फूलुन् |
जस्तो कि, …
1-कहिले कसो ‘बेड टि’ आओस् ।
सधै दिदीबहिनीको जिम्मा नहोस् |
2-तिमीलाई यो कपडा वा यो रंग सुहाउंछ ।
धेरै भन्दिन । थोरै प्रशंसाले मन प्रफुल्लित हुन्छ ।
ब्वाइफ्रेन्ड वा श्रीमानले यति त भनिदिनु नै राम्रो |
छोरीमान्छे सधै आफ्नो नजिकको मान्छेको कम्प्लिमेंट्स चाहन्छे ।
3-आज तिमी राम्री देखिएकी छौ ।
एकअर्कालाई हेरेर मन पराएर नै प्रेम गाँसेको/ बिवाह गरेको हो । त्यसैले यति भनिदिंदा पुरुष दाजुभाईहरुलाई घाटा छैन ।
4-अहो, तिम्रो ब्रत पूजापाठ रहेछ, तिमी आफ्नो काम गर |आज घरधन्दामा थोरै म सघाउँछु ।
यसो भनिदिंदा आफ्नी प्रेमिका वा श्रीमतीलाई भगवानको आशिर्वाद पाएको महशुष हुनेछ । उनले भगवानलाई धन्यवाद भन्छिन् कि, तपाईं उनको जीवनमा आउनुभयो ।
5-आज म बाहिर जानु छ, आउँदा तिमीलाई वा किचनको लागि केहि समान ल्याउनु छ कि ?
यो वाक्यले उनलाई लाग्ने छ, अहो कस्तो अहोभाग्य त । उहाँले बाहिर काम गर्ने मात्र होइन । घरको मेरो पनि उत्तिकै ख्याल राख्नुहुँदो रहेछ ।
6-तिमीलाई सन्चो नभए, म हेल्प गर्छु |
उनले राम्रो महसुश गर्नेछिन् कि आमा बाहेक कोहि त छ, जसले उनको स्वास्थ्यको ख्याल गर्छ ।
7-आऊ एउटा सेल्फी खिचौं |
माया गर्छु भन्ने मात्र होइन । देखाउन र महसुश गराउन नहिच्किचाउनुस् । आत्मियता देखाउनुस् । आत्मीय बन्नुस् ।
8-अँ साँच्ची, तिम्रो घरमा तिम्रो आमा बुवालाई सन्चै छ ?
तपाईंको बनेपछि उनले तपाईं र तपाईंको परिवारलाई अपनाएकी हुन्छिन् । थोरै त तपाईंकोपनि धर्म बन्छ, उनको परिवारप्रति सदासयता देखाउनु ।
9-कम्युनिकेट गर्नुस् ।
बाहिर कहिँ निस्कनु भएको छ र फर्कन ढिला हुन्छ भने उनलाई जानकारी गराउनुस् ।
10-एक अर्काप्रति प्रतिबद्ध रहनुस् ।
प्रेममा रहंदा होस् वा बिवाह भएपछी होस्, लामो समय एकअर्काको समिप रहिरहँदा सम्बन्धमा थोरै तलमाथि /ठाकठुक / भनाभन / झगडा -माया । फेरी झगडा -फेरी झन् झन् माया | यो सब भएमा पनि, सदैव आफ्नो पार्टनरप्रति /आफ्नो प्रेमप्रति वफादार रहनुस् । प्रेम त इश्वरको आशिर्वाद हो । आशिर्वादको मर्यादा र महत्वलाई बुझ्नुस् ।
विशेष गरि विवाहितले वैवाहिक वर्षको मिती, एकअर्काको जन्मदिन वा अरु खास दिन याद गरेर अति सानो नै किन नहोस् सरप्राइज दिनसक्नु अति राम्रो । यदि यस्तो अहिलेसम्म गर्नु भएको छैन भने अब सुरु गर्नुस् । ढिला भएको छैन ।
मेरो व्यक्तिगत कुरा शेयर गर्नुपर्दा मलाई क्यान्डिल लाइट डिनरको पनि रुचि भएन | टुकी बाल्ने जमानामा हुर्कियो । बुकीफुल संग साइनो गाँसियो ।
तर बिवाहपछि भने भुटेको मकै भट्टमास संगै चपाउन पाउँ भन्ने रहर सधै रह्यो /हुनेछ | मिठो मसिनो पाकेको खाना संगैसंगै खान पाऊँ जस्तो सधै लाग्छ |
एकअर्का प्रतिको मायालाई बचाई राख्न अरुलाई तारिफ र आफ्नालाई निच व्यवहार दुवै पक्षबाट हुनुहुँदैन।
उपहार पाउनु /दिनु राम्रो पक्ष हो । सम्बन्धमा उपहार लिनु /दिनु सामान्य भएपनि, उपहारलाई नै सम्बन्धको सुत्र बनाउनु चाहीं सहि होइन । फेरी कसैबाट उपहार लिएर वा दिएर मात्र खुशी मिल्छ भन्नेपनि होइन ।
खुशी मिल्न त सबै भन्दा पहिले मन मिल्नुपर्यो । भावना र भाईब म्याच गर्नुपर्यो । मनका कुरा निर्धक्क एकअर्कामा राख्दा मन हल्का भएको महशुष भयोभने, उपहारबिना पनि मन त्यतिकै खुशी हुन्छ ।
अरुले दिएको उपहार जे,जस्तो, जत्रो भएपनि स-हर्ष स्वीकार्नुपर्छ । त्यो उपहारमा उक्त मान्छेको माया हेर्नुपर्छ ।
प्रेम दिवस ! किन एक दिन, किन एक हप्ता ??
हरेकदिन प्रेमले बितोस् । प्रेमिल सम्बन्धमा जरुरी छैन, पैसाले, गिफ्टले, सपिङ्गले मात्र रोल खेल्छ भन्ने ।
जीवन अनि मन एक अर्काप्रतिको मायाले ओतप्रोत छ भने सुख्खा रोटिपनि ‘मिठो व्यंजन’ लाग्दछ । मुड ठिक हुँदा, माया लाग्दा मात्र होइन, रिसमा पनि एकअर्का प्रतिको न्यूनतम सम्मानको ख्याल गर्न सक्नुपर्छ ।
माता सरस्वतीको आशिर्वाद स्वरुप एकअर्कामा मिठो बोल्न सकियोस् । माया घोल्न सकियोस् ।
केहि नहुँदापनि “माया” होस् । कोही नहुँदापनि एकअर्काको दरिलो “साथ” होस् । जीन्दगी मायाले चलोस् !
#शुभदिन #शुभसमय 🙏
Comments
Post a Comment